काठमाडौं– सहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताएका छन्।
बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त कुरा बताएका हुन्।
उनले भौतिक निर्माणका क्षेत्रमा धेरै चुनौतीहरु रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्रहरु मिलेर सम्बोधन गर्न आवश्यक रहेको दाबी गरे।
उनले भौतिक निर्माणका कामहरु गुणस्तरीय नहुने र समयमा नसकिने समस्याले आम जनताले दुःख पाइरहेको बताउँदै, जनतालाई सहज बनाउनका लागि निर्माणका कामहरु समयमै र गुणस्तरयुक्त बनाउन निर्देशनसमेत दिए।
मन्त्री चौधरीले भौतिक निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउने बारेमा सरकारले ध्यान दिनुपर्ने बताए। उनले सरकार र निर्माण व्यवसायीहरुको सहकार्यबिना ठूला भौतिक निर्माणका पूर्वाधारहरु निर्माण हुन नसक्ने भन्दै अब गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताए।
उनले भने, ‘भौतिक निर्माणका क्षेत्रमा हाम्रा अगाडि च्यालेन्जहरु छन्, गुणस्तरका कामहरु नहुने कुरा, समयमा नसकिने कुराहरु छन्, यसलाई सम्बोधन गर्न जरुरी छ। हाम्रो पनि यसमा जवाफदेहीता छ। पैसा उपलब्ध गराउने कुरामा पनि सरकारले ध्यान दिनुपर्छ। जबसम्म हामी सरकार पक्ष र निर्माण व्यवसायी दुवै पक्षको बीचमा संयोजन हुन सक्दैन त्यसबेलासम्म भौतिक निर्माणका ठूला काम सम्पन्न हुन सक्दैनन्। धेरै प्रोजेक्टहरु रुग्ण भइरहेका छन्। ठेकेदारले छोडेर भाग्दा धेरै निर्माणका कामहरुले गति लिन नसकेको भन्ने छ।’
उनले ठेकेदारले काम छोडेर भाग्दा कतिपय अवस्थामा समयमा नै काम सम्पन्न हुन नसकेको भन्दै निर्माण व्यवसायीहरु त्यस तर्फ ध्यान दिन निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।