काठमाडौं– एसएस राजामौलीको फिल्म 'आरआरआर'ले यो वर्ष विश्वभरि चर्चा कमायो।
फिल्मले धेरै पैसा कमायो र रेकर्ड पनि तोड्यो। फिल्मको अपार सफलतालाई मध्यनजर गर्दै यसलाई भारतबाट ओस्करमा पठाउनुपर्ने माग पनि उठेको थियो।
केही दिनसम्म सामाजिक सञ्जालमा एउटा अभियान पनि चलेको थियो। 'आरआरआर'ले ओस्करमा 'बेस्ट फिचर फिल्म' विधामा नोमिनेसन नपाए पनि यसका निर्देशक एसएस राजामौलीले ठूलो अमेरिकी सम्मान पाएका छन्।
एसएस राजामौली यो सम्मान प्राप्त गर्ने पहिलो भारतीय निर्देशक हुन्।
एसएस राजामौलीको नाम विश्वभर परिचित छ। 'बाहुबली'को सफलतापछि उनको नाम देशमा मात्र होइन, विदेशमा पनि चर्चामा रह्यो। यसपछि फिल्म 'आरआरआर'ले इतिहास रच्यो। यस फिल्मका लागि एसएस राजामौलीले न्युयोर्क फिल्म क्रिटिक्स सर्कलमा उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन्।
न्युयोर्क फिल्म क्रिटिक्स सर्कल सन् १९३५ मा सुरु भएको थियो र त्यसयता कुनै पनि भारतीय फिल्म मेकरले यो अवार्ड पाएका छैनन्। तर अब एसएस राजामौलीले यो अवार्ड जितेर इतिहास रचेका छन्।
उत्कृष्ट निर्देशकको विधामा स्टिभन स्पीलबर्ग, डारोन एरोनोफस्की, सारा पोली र जिना प्रिन्स–ब्लिथवुडजस्ता हलिउड सेलिब्रेटीलाई समावेश गरिएको थियो। तर एसएस राजामौलीले ती सबैलाई पराजित गर्दै यो पुरस्कार जिते।
'आरआरआर'का निर्माताहरुले ओस्कारमा १४ विधामा नोमिनेशनका लागि फिल्म पेश गरिसकेका छन् र अब यो अभियान पनि सुरु भएको छ। 'आरआरआर' अन्तर्गत पटकथा, स्कोर, सम्पादन, साउन्ड, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट निर्देशक र सम्पादन गरी १४ विधामा अवार्ड प्रदान गरिएको छ।
ओस्कार अवार्ड प्रदान गर्ने एकेडेमी अफ मोसन पिक्चर्स एण्ड साइन्सेजमा जुरी सदस्यको रुपमा विश्वभरका फिल्म टेक्निसियन र फिल्म समीक्षकहरु रहेका छन्।
राजामौलीले अब उत्कृष्ट निर्देशकको अमेरिकी पुरस्कार जितेकाले ‘आरआरआर’लाई लिएर विश्वभरका समीक्षकबीच राम्रो माहोल रहेको र उनीहरूले फिल्म मन पराएको बताइन्छ।
एसएस राजामौलीका पिता तथा लेखक विजयेन्द्र प्रसादले उत्कृष्ट निर्देशकको अमेरिकन अवार्ड जितेर इतिहास रचेकोमा निकै खुशी व्यक्त गरेका छन्। उनले भने, ‘एक पिताको रूपमा, म धेरै खुसी छु। हाम्रा युवा र प्रतिभाशाली फिल्म टेक्निसियनले गौरवान्वित गर्ने क्षणहरू ल्याइरहोस्।'
'आरआरआर'मा राम चरण, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्टजस्ता कलाकार थिए। ओटीटीमा रिलिज हुँदा फिल्मले हलचल मच्चाएको थियो।
अन्तर्राष्ट्रिय सेलिब्रेटी र समीक्षकहरूले 'आरआरआर' को उच्च प्रशंसा गरेका थिए। (नवभारत टाइम्सबाट अनुवाद)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।