काठमाडौं– राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई उनीहरू बसिरहेको स्थानबाट नहटाउन आग्रह गरेको छ।
आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै लगत संकलन र प्रमाणीकरणको काम सम्पन्न नहुन्जेल उनीहरूलाई नहटाउन तथा असुरक्षित हुने कार्य नगर्न आग्रह गरेको हो।
निर्वाचनको बेला रोकिएको प्रमाणीकरण र लगत संकलनको काम पुनः सुरु गर्ने तयारी गर्न भन्दै आयोगले भनेको छ, ‘लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका बस्ती हटाउने र उनीहरु असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न÷नगराउन यो सूचना प्रकाशित गरिएको छ ।’
काठमाडौं महानगरले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरूलाई हटाउन थालेपछि आलोचना भइरहेको छ। यहीबीचमा काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि १४ मंसिरमा ३५ दिने सूचना जारी गर्दै खोला किनार लगायत क्षेत्रमा अतिक्रमण गरिएका जग्गा खाली गराउन भनेको छ।
गत सोमबार सुकुम्बासी बस्ती हटाउन डोजरसहित पुगेको महानगरको टोली र बस्तीका बासिन्दाबीच झडप भएको थियो। झडपका क्रममा महानगर सुरक्षा बल र सुकुम्बासी बस्तीका केही मानिस घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।