काठमाडौं– काठमाडौंमा जारी एक दिवसीय वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश १ लाई हराएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रदेश १ लाई ६ विकेटले पराजित गरेको हो। यससँगै लुम्बिनीले जारी प्रतियोगितामा पाँच खेलबाट चौंथो जित निकालेको छ। लुम्बिनीले तालिकामा ८ अंक बनाएको छ। समान खेलबाट बागमती प्रदेशको पनि समान ८ अंक नै छ। रन रेटको आधारमा बागमती दोस्रो स्थानमा छ।
चौंथो खेलमा पनि सुखद् नतिजा निकाल्ने क्रममा प्रदेश १ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। लुम्बिनीका लागि ओपनरद्वय आकाश त्रिपाठी र लोकेश बमले ४० रनको साझेदारी गरेका थिए।
आकाशले १७ रन जोड्दा लोकेशले व्यक्तिगत १९ रनको योगदान गरेका थिए। त्यस्तै, प्रज्वल थापाले १५ रन जोड्दा सुनिल भण्डारी र विशाल भुषाल ६ र ८ रनमा अविजित रहे। लुम्बिनीको चार विकेट पतन हुँदा दिपेश कँडेल एक्लैले ३ विकेट लिए भने एक विकेट विपिन महतोको नाममा रह्यो।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले २६.२ ओभरमा सबै विकेट गुमाएर मात्र ६९ रन जोड्नसक्यो। खराब सुरुआत गरेको प्रदेश १ का लागि शुभन गहतराजले सर्वाधिक २२ रनको योगदान गर्दा इस्टेन रिजालले १९ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।
प्रदेश १ को इनिङ्सलाई न्युन स्कोरमा रोक्नका लागि निर्मल गुरुङ एक्लैले ५ विकेट निकाल्दा दुर्गेश गुप्ताले २ तथा अभिषेक गौतम र तुलबहादुर थापाले समान १/१ विकेट हात पारे।
प्रतियोगिता अन्तर्गत बिहीबार नै मुलपानी मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई १ सय ९ रनले स्तब्ध बनायो। यससँगै गण्डकीले जारी प्रतियोगितामा पहिलो जित निकालेको छ। यसअघिका सबै खेल गुमाएको गण्डकीको अघिल्लो यात्रा समाप्त भइसकेको छ।
गण्डकीले जितका लागि दिएको २ सय ३५ रनको लक्ष्यमा कर्णालीले ३० ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २५ रन जोड्न सक्यो। कर्णालीका लागि सुवास ऐरले ३२ रन जोड्दा कप्तान विपिन रावलले १९ रन जोडे। मनिष थापाले १८ रन जोड्दा युनिस सिंहले १२ बनाए भने अन्यको खातामा सम्झन लायक प्रदर्शन भएन।
गण्डकीले १८ रन अतिरिक्तमा दिएको थियो। बलिङतर्फ गण्डकीको जितमा कप्तान सुवास भण्डारीले ६ विकेट लिए। सिब्रिन श्रेष्ठले ३ तथा निर्तिश गिरीले १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो। गण्डकीका लागि गोविन्द विक र अर्जुन कुमालले अर्धशतक बनाए। गोविन्द विकले ५५ तथा कुमालले ५० रनको गोगदान गरे। दीपक डुम्रेले ४४ रन बनाए। सिब्रिन श्रेष्ठले २६ रन तथा कप्तान सुवास भण्डारी २१ रनमा अविजित रहे। कर्णालीका लागि आवास साहले ३ तथा मोहन विकले २ विकेट लिए। विनित खत्रीले १ विकेट लिए।
प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछन्। यी दुईमध्ये बागमती र सुदूरपश्चिमको खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ। यी दुईको खेल मुलपानी मैदानमा हुनेछ र कीर्तिपुर मैदानमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।