काठमाडौं- सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ।
गृह मन्त्रालयमा बिहीबार दिउँसो भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह र नकेपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच वार्ता भएको हो।
वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाडो टुंग्याउन अहिलेसम्म भएका प्रगतिबारे कुराकानी भएको थियो। नेकपासँगका मुद्दा टुंग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुंग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुंग्याउन वर्तमान कानुनले अफ्टेरो पर्ने भएमा संशोधन गरेर भए पनि टुंग्याउने निर्णय गरेको थियो।
त्यही निर्णय कति कार्यान्वयन भयो र आगामी दिनमा तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था छ कि छैन भन्नेबारेमा नेकपा प्रवक्ता विश्वकर्माले जिज्ञासा राखेका थिए।
जवाफमा सरकारका तर्फबाट निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको धारणा आएको थियो।
सरकारका तर्फबाट गृहमन्त्री खाँणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए।
‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध छौँ,’ गृहमन्त्री खाणले भने, ‘केही प्रशासनिक तवरबाट हुने निर्णय भइसकेका छन्। अदालती प्रक्रियामा गएका मुद्दाहरूबारे पनि प्रक्रिया अगाडि बढिसकेको छ। निर्णय अनुसार कार्यान्वयन हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।