ज्ञानेन्द्र बहादुर कार्की (फाइल तस्बिर)
इनरुवा– सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो क्षेत्रको समृद्धिका लागि अझै बढी काम गर्ने बताएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका कार्कीले यसअघि आफूले गरेको कामकै आधारमा मतदातालाई आफूलाई मत दिएर जिताएको र मतदाताले दिएको जिम्मेवारीअनुसार अझै बढी काम गर्ने बताए।
मन्त्री कार्कीले मतदाताले आफूमाथि गरेको विश्वासलाई अभिवृद्धि गर्दै लैजाने पनि बताए। ‘जुन विश्वासका साथ मलाई निर्वाचित गर्नुभएको छ, त्यो विश्वासलाई म अरु अभिवृद्धि गरेर लिएर जान्छु। र उहाँहरुको विश्वासलाई म घात गर्ने छैन,’ कार्कीले भने, ‘मैले धेरै कामहरु यो क्षेत्रमा गरेको छु। त्यसैको आधारमा मलाई विजय गराउनुभएको छ। अब ५ वर्षको कार्यकालमा अरु बढी कामहरु म गर्नेछु।’
मन्त्री कार्की ३० हजार ४८३ मतका साथ सुनसरी ४ बाट विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे। मन्त्री कार्कीले कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरे।
सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३ हजार २३२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार १८१ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।