काठमाडौं– मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि सुरुङमा पानी भर्न सुरु गरेको छ। अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं ल्याउन सुरु गरेको मेलम्ची खानेपानी समितिले सामजिक सञ्जालमार्फत् जानकारी दिएको छ।
समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट पानी भर्न सुरु गरेको छ। बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो।
गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढेको थियो। आयोजनाको हेडवर्क्समा पुरिएका संरचना र आयोजनासम्म पुग्ने सडक बनाएर पानी पथान्तरण गरिएको हो।
‘अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरणको लागि २६ कि मि सुरूङ भर्ने कार्य २०७९/०८/१२ देखि प्रारम्भ भएको छ। अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरणका लागि उपलब्ध हुने छ। यस अवस्था सम्म ल्याइपुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हात र साथहरूमा विशेष धन्यवाद’, समितिले सामाजिक सञ्जालमा भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।