काठमाडौं– इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका छन्। उनी नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै निर्वाचित भएका छन्।
इलाम–१ मा खनाललाई उनले २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन्। ६२ वर्षीय बस्नेत नेकपा एमाले इलामका अध्यक्ष हुन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
खनालले यो क्षेत्रबाट ०५६ बाहेक सवै निर्वाचन जितेका थिए। तर यसपटक पहिले जित्दै आएको क्षेत्रमा एमालेकै उम्मेदवारसँग पराजित भएका छन्। उनलाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो।
७२ वर्षीय खनाल एकीकृत समाजवादीका सम्मानित नेता हुन्। २० को दशकदेखि राजनीतिमा सक्रिय उनी तत्कालीन भूमिगत नेकपा मालेको महासचिव पनि भएका थिए।
त्यस्तै, २०६५ मा एमाले अध्यक्ष तथा २०६७ मा नेपालको प्रधानमन्त्री पनि भएका थिए। त्यसअघि उनी २०४७ र २०५३ मा मन्त्री भएका थिए। खनाल २०५६ बाहेक सबै प्रतिनिधि सभा/संविधान सभामा सदस्य भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।