रामेछाप– प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गर्दै कांग्रेसका कान्छाराम प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
एमाले उम्मेदवार ढुंगेलसँग कांग्रेसका तामाङले १६ हजार ३६९ मतको अन्तरले जित निकाले। विजयी भएका तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर जित हासिल गरे। एमालेका ढुंगेलले ३० हजार ७२९ मतमा सीमित रहे।
निर्माण व्यवसायमा संलग्न तामाङ नेपाली कांग्रेस रामेछाप जिल्ला कार्यसमितिका सभापति समेत हुन्। यसअघि २०७४ सालको प्रतिनिधि सभामा पनि उम्मेदवार रहेका उनी त्यतिबेला भने पराजित भएका थिए।
तामाङसँग पराजित भएका एमालेका ढुंगेल भने २०७४ सालको निर्वाचनबाट बागमती प्रदेश सभाको सदस्य निर्वाचित भएका थिए। उनी साढे ३ वर्ष बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बने।
रामेछापबाट बागमती प्रदेश सभाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनबाट प्रतिस्पर्धामा रहेका माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।