काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणामले मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको टिप्पणी गरेका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा विजयी भएका अध्यक्ष ओलीले निर्वाचित भएको प्रमाणपत्र लिँदै निर्वाचनको परिणाम सुखद् नभएको बताए।
‘यो निर्वाचनबाट मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिए पनि त्यसो हुन सकेन,’ उनले भने, ‘मंसिर ४ गते सम्पन्न निर्वाचनबाट कसैको बहुमत नआउने भएपछि त्यसको असर सरकार गठनमा पर्ने र देशलाई दुर्घटनातिर लैजाने खतरा बढेको छ।’
उनले यस निर्वाचन परिणामले नयाँ सरकार गठनलगायतमा सुरुवातदेखि नै दल तथा सांसदहरुको मोलमोलाई सुरु हुने भन्दै चिन्ता प्रकट गरे।
‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ। मुलुकले एउटा दिशा पाउँछ भन्ने आशा थियो। तर, त्यसो भएन,’ उनले भने, ‘अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो । यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था छ। फेरि पनि सुरुदेखि नै दलहरुको मोलतोल र सांसदहरुको भाउ कसेर किनबेच चल्ने भयो।’
उनले अब बन्ने सरकारले फेरि पनि मुलुक र जनताको लागि काम गर्न नसक्ने बताए। ‘अब बन्ने सरकारले जनता र मुलुकको विकासको काम गर्न नसक्ने भयो’, ओेलीको दावी थियो, ‘बहुमतको सरकार नबन्ने भएपछि दलहरु आफ्नो सरकार जोगाउन सांसदको मोलतोल, लेनदेन र भागबण्डामै लाग्दा ठिक्क हुन्छ।’
अध्यक्ष ओलीले राजनीति गम्भीर विषय भएकाले यसलाई रमाइलोको रुपमा नलिन आग्रह गरे। उनले राजनीतिमा युवाको आकर्षण नभएको भन्ने भनाई निर्वाचनको मतपरिणामले गलत साबित गरिदिएको बताए।
अध्यक्ष ओलीले धेरैजसो स्थानमा निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन गराउन निर्वाचन आयोग र सरकार सफल भएको भन्दै धन्यवाद दिए। यद्यपी निर्वाचनमा सरकार आफैंले कतिपय ठाउँमा बूथ क्याप्चर गरेको, चुनाव जित्न मान्छे मारेको उनको आरोप थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।