बैतडी– बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका छन्। उनले बैतडीबाट लगातार तेस्रो पटक जितेर ह्याट्रिक गरेका छन्। अहिलेको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)लाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्।
भण्डारीले ३३ हजार ६११ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याए। कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातार तेस्रो पटक जित हात पारेका हुन्।
एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षसमेत रहेका भण्डारी २०७० सालको संविधान सभा निर्वाचनमा बैतडी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।
२०७४ सालको संसदीय निर्वाचनमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई पराजित गर्दै बाजी मारेका थिए। त्यो बेलाको निर्वाचनमा माओवादी सहितको गठबन्धनबाट उनी निर्वाचित भएका थिए। कांग्रेसका चन्दलाई उनले ११ हजार २३३ मतान्तरले पराजित गरेका थिए। भण्डारीले ३९ हजार ५२४ मत प्राप्त गरेका थिए।
२०७९ मा माओवादी केन्द्रका कुँवरलाई पराजित गर्दै भण्डारीले तेस्रो पटक जित निकालेका हुन् । तर यो पालिकाको चुनावमा भने उनको मत र मतान्तर दुवै घटेको छ। यसअघि एमालेको सरकारका पाला उनी अर्थ वाणिज्य राज्यमन्त्रीसमेत भइसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।