विराटनगर– मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन्। कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता गठबन्धन र एमाले–जसपालगायतको तालमेलका उम्मेदवारलाई पराजित गर्दै मण्डलले चुनाव जितेका हुन्। उनले माओवादी केन्द्रका शिवकुमार मण्डललाई चार हजार ३३४ मतान्तरले पराजित गरेका छन्।
योगेन्द्रले २१ हजार ८२० मत पाएर जिते। सत्ता गठबन्धनका उम्मेदवार शिवकुमारले १७ हजार ४ सय ८६ मत पाएका छन्। एमालेको समर्थन रहेका जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाएका छन्। एमालेसँग नजिक रहेका मण्डल पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवार बनेका थिए।
ठूला पार्टीका दुई उम्मेदवारलाई फराकिलो मतान्तरमा जित्ने उनी राजनीतिकर्मी नभएर सामाजिक अभियन्ता हुन्। शिक्षाबाट बञ्चित भएकालाई पढाउने, घर नभएकालाई आवास दिने, बेरोजगारलाई रोजगारी दिने, उपचार नपाएकालाई उपचार दिने काम गर्दै आएको उनले दाबी गर्दै आएका छन्। उनले अरु नेताले सरह मतदातालाई आश्वासन नदिई चुनाव जितेका हुन्।
२०५४ मा जीवन विकास समाज नाम संस्था स्थापना गरेर गाउँमा वित्तीय गतिविधि थालेका उनलाई स्थानीयले नामले भन्दापनि ‘जोगीसर’ उपनामले चिन्छन्। जीवन विकास पब्लिक स्कुलमा एक हजार २०० र बालविकास केन्द्रहरूमा ६ सय विद्यार्थी हाल अध्ययनरत छन्। विद्यालयलाई व्यवस्थित बनाउंन उनले १० करोड रुपैंयाको अक्षयकोष स्थापना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।