काठमाडौं– मानवअधिकारवादी संगठन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रास, धम्की र प्रलोभनमा नपरी मतदानमा सहभागी हुन अपिल गरेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै इन्सेकले संविधानप्रदत्त सार्वभौम अधिकारको प्रयोग गर्न अपिल गरेको छ। आवधिक रूपमा गरिने निर्वाचनमा आफूलाई मन परेको उम्मेदवार छान्न पाउनु जनताको नैसर्गिक अधिकार रहेको उसले बताएको छ।
‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गराउनु निर्वाचन आयोगको दायित्व हो भने आफूलाई मन परेको उम्मेदवार छान्न पाउनु जनताको नैसर्गिक अधिकार हो। त्रास, धम्की, प्रलोभनमा नपरी मतदानमा सहभागी हुन हामी अपिल गर्दछौँ’, इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालको संविधानमा नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहीत हुने व्यवस्था रहेको उल्लेख गर्दै भनिएको छ, ‘आवधिक निर्वाचन आफैँमा त्यो अवसर हो, जसमार्फत् नागरिकले राज्य सञ्चालनलाई निर्देशित गर्छन्। आफ्ना लागि नीति बनाउने र त्यसको कार्यान्वयनमार्फत् आफ्नो जीवनस्तर सुधार्न पहल गर्ने प्रतिनिधि चुनेर पठाउँछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।