धनगढी– हेमन्त धामीको उत्कृष्ट बलिङ्गमा कञ्चनपुरले डडेल्धुरालाई ८ विकेटले पराजित गर्दै वाइवाइ यू–१९ प्रादेशिक क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ।
नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक कार्यक्रमअनुसार कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा महेन्द्रनगरमा भएको प्रतियोगितामा धामीको उत्कृष्ट बलिङ्गले कञ्चनपुरले उपाधि सुरक्षित गरेको हो।
कञ्चनपुरकोे कभर्ड हलमा भएको फाइनल खेलमा डडेल्धुराले दिएको ४२ रनको झिनो लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ४० ओभरको खेलमा ८.१ ओभरमा मात्र २ विकेटको क्षतिमा ४५ रन बनाउँदै सानदार जित हात पारेको हो।
कञ्चनपुरका लागि कप्तान अनुराग सिंहले २३ बलमा अविजित सर्वाधिक १९ रन बनाउँदा राहुल चन्दले १७ बलमा १२ रन जोड्न सफल भए।
बलिङतर्फ डडेल्धुराका लागि कप्तान कैलाश ऐरले ४.१ ओभरमा २५ रन तथा कृष्ण विष्टले १ ओभरमा १ रन खर्चंदै समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टोलीलाइ उपाधि भने दिलाउन सकेनन्।
यसअघि, टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको डडेल्धुराले निर्धारित ४० ओभरमा १६.४ ओभरमै सबै विकेटको क्षतिमा मात्र ४१ रन जोडेको थियो।
डडेल्धुराका कुनैपनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। यही नै हारको प्रमुख कारण भएको टोलीका प्रशिक्षक निरज रावलले बताए।
बलिङतर्फ कञ्चनपुरका लागि हेमन्त धामीले ५ ओभरमा ३ मेडेनसहित मात्र ५ रन खर्चंदै ह्याट्रिकसहित सर्वाधिक ५ विकेट लिन सफल भए। उनी फाइनल खेलको म्यान अफ दी म्याच पनि घोषित भए।
धामी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत बने। साथै, डडेल्धुराका दीपक बोहरा उत्कृष्ट ब्याट्सम्यान तथा अछामका युवराज खत्री उत्कृष्ट बलर घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।