काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा– १ मा आफ्नो पार्टीका उम्मेदवार अग्नि खरेलका लागि भोट माग्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गरेका छन्। नेपाली कांग्रेसका नेता–कार्यकर्ताले खरेललाई बाहिरिया भनेको विषयको खण्डन गर्ने क्रममा ओलीले प्रचण्डमाथि व्यंग्य गरेका हुन्।
साथै, ओलीले प्रचण्डलाई दिल्लीको नोयडामा बसेर राजनीति गरेको आरोपसमेत लगाए।
‘खरेलजीलाई बाहिरिया भन्नुहुन्छ। चितवनबाट भागेका प्रचण्डलाई गोरखामा भोट हाल्ने कांग्रेसले खरेलजीलाई बाहिरिया भन्न मिल्छ?’, उनले प्रश्न गरे, प्रचण्ड त जन्मे कास्कीको ढिकुरपोखरी, चुनाव लडे रोल्पा, रोल्पाबाट भागेर काठमाडौं र काठमाडौंबाट भागेर चितवन, त्यहाँबाट भागेर गोरखा पुगेका छन्। राजनीति गरे दिल्लीको नोयडामा। त्यसैले, एकपल्ट भन्दा अर्कोपल्ट मुख देखाइसक्नु हुन्न, अनि भाग्नुपर्छ।’
ओलीले यता स्थानीय र बाहिरियाको कुरा गर्ने कांग्रेसले गोरखाका स्थानीयका साथै युवा अब्दुस मियाँलाई भोट माग्नुपर्ने बताए।
उनले भने, ‘यो निर्वाचनले स्थिरता कि अस्थिरता फैसला गर्छ। यस क्षेत्रका जनताले कुनै गल्ती गर्न हुँदैन।
विश्वप्रकाशजीहरूले एउटा कुरा गर्नुहुन्छ, उहाँ कहिलेदेखि आउनुभयो? २०२६ सालदेखि संगठन गरेको मान्छे हुँ।’
ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्ड एकै खालका चरा रहेको उल्लेख गरे। उनीहरूको नाम मात्रै एउटाको कांग्रेस र अर्काको कम्युनिस्ट रहेको बताए।
उनले थपे, ’भेट्दा हात मिलाएर बसिरहन्छन्। अनुहार हेर्नुहोस् न– मौका मिले तँलाई भनेर हेरिरहन्छन्।’
प्रचण्ड अब मुसो हुने बाटोमा रहेको भन्दै ओलीले कटाक्ष गरे। धोद्रो परेको रुख र काठको हँसिया हथौडाले केही गर्न नसक्ने उनको भनाइ थियो।
आफूले माओवादीलाई गमसम लगाएर एमालेमा टाँसेको तर पर्चा उप्किएजस्तै पक्लक्क उप्किएको बताए। ‘गमसम लगाएर एमालेका टाँसेका प्रचण्ड पक्लक्क उप्किए। थुप्रै नेता–कार्यकर्ता एमालेमै रहे’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।