काठमाडौं– जिल्ला निर्वाचन कार्यालय, चितवनले चितवन–२ बाट प्रतिनिधि सभामा उठेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ।
मुख्य जिल्ला निर्वाचन कार्यालयका एक कर्मचारीका अनुसार लामिछानेलाई नागरिकता सम्बन्धमा परेको उजुरीका विषयमा स्पष्ट पार्न भनिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले पहिले विदेशी नागरिकता लिएका कारण नेपाली नागरिकता कायम नरहेको भन्दै दुई जनाले आयोगमा उजुरी दिएका थिए। सोही उजुरीका विषयमा उनलाई सात दिनभित्र जवाफ पठाउन भनिएको र उनले पत्र पनि बुझेका छन्।
‘नागरिकताको विषयमा तपाईंमाथि परेको उजुरीका आधारमा उम्मेदवारी खारेज किन नगर्ने?’, आयोगको स्पष्टीकरणमा भनिएको छ, ‘यदि उजुरी साँचो होइन भने तपाईंका प्रमणहरूसहित सात दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नू।’
लामिछानेलाई सोधिएको स्पष्टीकरणमा उजुरी र उजुरीकर्ताले दिएका केही प्रमाणसमेत संलग्न गरी पठाएको ती कर्मचारीले बताए। लामिछानेले निर्वाचन आयोगमा दल दर्ता गर्दा र उम्मेदवारी दर्ता गर्दा अमेरिकी नागरिकता लिएपछि खारेज भएको नेपाली नागरिकता पेश गरेको दाबी उजुरीमा गरिएको छ।
उनले पुनः नागरिकता कायम गराउन आवश्यक प्रक्रिया पूरा नगरेकोले उनको उम्मेदवारी खारेज हुुनपर्ने उजुरीमा उल्लेख छ। निर्वाचन कार्यालयले लामिछानेको जवाफपछि मात्र थप निर्णय लिनेछ। मंसिर ४ को निर्वाचन आउन अब पाँच दिनमात्र बाँकी रहेको छ। मंसिर १ गतेदेखि मौन अवधि सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।