काठमाडौं– श्रीलंकन क्रिकेटर दानुस्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन्। अस्ट्रेलियाको सिड्नीमा २९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा दानुस्कालाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
दानुस्काले यही बुधबार (२ नोभेम्बर २०२२)मा महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
बायाँहाते ब्याट्सम्यान दानुस्काले जारी टी–२० विश्वकप क्रिकेटमा नामिबियाविरुद्धको पहिलो खेल खेलेका थिए। त्यसपछि इन्जुरीका कारण उनले बाँकी खेलहरु गुमाएका थिए।
आइतबार इंग्ल्याण्डसँगको खेलमा पराजय भोगेपछि उनको टिम (श्रीलंका) प्रतियोगिताबाट बाहिरिसकेको छ। श्रीलंकाली टोली दानुस्कालाई सिड्नीमै छाडेर स्वेदश फर्किसकेको हो।
अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीको बेवसाइटमा सिड्नीको पूर्वी क्षेत्रमा महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा श्रीलंकन नागरिकलाई नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ।
बेवसाइटमा उल्लेख गरिएअनुसार दानुस्का र ती महिलाबी एउटा अनलाईन डेटिङ एपमार्फत् कुराकानी सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।