काठमाडौं– अष्ट्रलियामा जारी आइसीसी टी–ट्वान्टी विश्वकपमा दक्षिण आफ्रिकाविरुद्ध पाकिस्तानले जित निकालेको छ। वर्षा भएपछि छोट्याइएको खेल डकवर्थ लेविस पद्धतिका आधारमा पाकिस्तानले ३३ रनले जितेको हो।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै १८५ रन बनाएको थियो।
पाकिस्तानका लागि शदब खानले ५२ रन, इफ्तिकार अहमतले ५१ रन र मोहम्मद हरिसले २८ रन बनाएका थिए।
पाकिस्तानको जितसँगै सुपर १२ को समूह २ को समीकरण रोमाञ्चक मोडमा पुगेको छ।
डिएल पद्धतिका आधारमा जितका लागि पाकिस्तानले दिएकाे १४२ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १०८ रनमात्र बनायो। दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाको १९ बलमा ३६ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकको रनसमेत बनाउन सकेनन्।
याे जितसँगै पाकिस्तान ४ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा उक्लएको छ।
पहिलो स्थानमा ६ अंक सहित भारत छ भने दक्षिण अफ्रिका ५ अंकसहित दास्रो स्थानमा छ। समान ४ अंक रहेको बंगलादेश भने चौथो स्थानमा झरेको छ।
यो समूहबाट अर्को चरणमा दुई टोली जानेछन्। अब एक–एक खेल्न बाँकी रहेको अवस्थामा अर्को खेल पाकिस्तान र बंगलादेश बीच रहेको छ। यस्तै, दक्षिण अफ्रिकाले बाँकी रहेको एक खेल दी नेदरल्याण्ड्ससँग खेल्नेछ भने भारत र जिम्बावे प्रतिस्पर्धामा उत्रनेछन्।
दक्षिण आफ्रिकाले हारेमा पाकिस्तान र बंगलादेशमध्ये एक टोली अर्को चरणमा जाने निश्चित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।