काठमाडौं– अष्ट्रेलियामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ अन्तर्गत समूह १ को खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराएको छ।
ब्रिस्बेन क्रिकेट मैदानमा मंगलबार भएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई २० रनले हराएको हो।
इंग्ल्याण्डले दिएको १८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५९ रनमात्र बनाउन सक्यो।
न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाए। यस्तै, कप्तान केन विलियम्सनले ४०, फिन एलन र मिचेल स्यान्टनरले समान १६÷१६ रन जोड्नबाहेक अन्य ब्याटरले दोहोरो रनको स्कोर बनाउन पनि सकेनन्।
इंग्ल्याण्डका साम कुरान र क्रिस वोक्सले दुई–दुई तथा मार्क उड र बेन स्टोक्सले एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्इाण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७९ रन बनाएको थियो।
इंग्ल्याण्डका लागि दुई ब्याटरले अर्धशतकीय पारे खेले। सो क्रममा कप्तान जोस बट्लरले सर्वाधिक ७३ रन बनाए।। एलेक्स हलेसले ५२ र लिएम लिभिङस्टोनले २० रन जोडे।
बट्लर खेलको उत्कृष्टसँगै मूल्यवान खेलाडीसमेत घोषित भए।
न्युजिल्याण्डका लकी फर्गुसनले दुई तथा टिम साउथी, स्यान्टनर र इश सोधीले एक–एक विकेट लिए।
जितसँगै समूह १ मा चार खेलबाट पाँच अंक बनाएको इङ्ल्याण्ड दोस्रो स्थानमा उक्लिएको छ। समान पाँच नै अंक रहेको न्युजिल्याण्ड हारका बाबजुद शीर्ष स्थानमा कायमै छ।
नेट रनरेटका आधारमा न्युजिल्याण्ड इंग्ल्याण्डभन्दा अगाडि छ।
तेस्रो स्थानमा रहेको आयोजक अष्ट्रेलियाको पनि पाँच अंक छ। उ पनि रनरेटकै आधारमा इंग्ल्याण्डभन्दा पछाडि छ।
क्रमशः चौथो स्थानमा रहेको श्रीलंकाको चार, पाँचौमा रहेको आयरल्याण्डको तीन र अन्तिममा रहेको अफगानिस्तानको दुई अंक छ। अफगानिस्तान एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।