काठमाडौं– नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो। घोषणापत्रमा एमालेले प्रतिव्यक्ति आय दोब्बर गर्दै कूल ग्राहस्थ उत्पादन (जीडीपी) आकार १०० खर्बको पुर्याउने योजना अगाडि सारेको छ।
पार्टीले घोषणापत्रमा भनेको छ, ‘कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई आगामी ५ वर्षभित्र १०० खर्ब रुपैयाँ पुर्याइनेछ। नेपालीको औसत प्रतिव्यक्ति आम्दानी ३ लाख (२४०० अमेरिकी डलर) रुपैयाँ पुयाइनेछ।’
एमालेले कृषिको व्यवसायीकरण गरिने, साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार गर्ने र नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुर्याउने विषय पनि घोषणापत्रमा उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।