काठमाडौं– नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्रमा रेललाई प्राथमिकताका साथ अघि सारेको छ।
सोमबार सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा माओवादीले ‘सहज जीवनका लागि पूर्वाधारमा लगानी ⁄ पूर्वाधार विकासले ल्याउँछ नयाँ बिहानी’ नारा सहित पूर्वाधारको विषयलाई उल्लेख गरेको छ।
पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गरिने घोषणापत्रमा उल्लेख गरेको छ। यस्तै वीरगञ्ज–काठमाडौं, रसुवागढी–काठमाडौं, पोखरा–लुम्विनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकताता दिइने विषयले पनि घोषणापत्रमा प्राथमिकता पाएको छ।
माओवादीले काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेलको निर्माण कार्य अघि बढाइने योजना पनि अघि सारेको छ।
चक्रपथ वरिपरि र बुढानीलकण्ठ–सानेपा तथा थानकोट–साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाइने घोषणापत्रमा जनाइएको छ।
माओवादीले पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायत मुख्य सहरहरूमा मेट्रो र मनोरेल, ट्रली लगायत आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने कामको योजनाबद्ध रूपमा थालनी गर्ने उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।