काठमाडौं- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले दोस्रो जित हात पारेको छ। घरेलु मैदानमा भएको खेलमा आयरल्याण्डलाई ४२ रनले हराउँदै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो।
अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै १ सय ८० रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको आयरल्याण्ड १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ रनमा समेटियो।
आयरल्याण्डका लागि लोर्कान टुकरले अविजित रहँदै ७१ रनको अर्धशतकीय इनिङ खेले। यस्तै ग्यारेथ डेलानीले १४ तथा पाउल स्ट्रर्लिङ र मार्क एडिएरले ११/११ रन बनाए।
अष्ट्रेलियाका प्याट कमिन्स, ग्लेन म्याक्स्वेल, मिचेल स्टार्क र एडम जाम्पाले २/२ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो।
अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ६३ रनको अर्धशतकीय इनिङ खेले। मार्कुस स्टोइनिसले ३५ तथा मिचेल मार्शले २८ रन बनाए। टिम डेभिड अविजित १५ तथा ग्लेन म्याक्सवेलले १३ रन बनाए।
आयरल्याण्डका लागि बारी म्याककार्थीले ३ तथा जोश लिटलले २ विकेट लिए। जितसँगै अष्ट्रेलिया समूह १ को दोस्रो स्थानमा उक्लिएको छ भने हारले आयरल्याण्ड चौथो स्थानमा झरेको छ। अष्ट्रेलियाले ४ खेलमा ५ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।