काठमाडौं- नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गर्दैछ। घोषणापत्रमा कांग्रेसले आगामी पाँच वर्ष समुन्नति र सुशासनमा केन्द्रित हुने उल्लेख गरेको छ।
घोषणा पत्रलाई भविष्यमुखी र यथार्थपरक बनाउने खोजिएको लेखन समूहका एक सदस्यले जानकारी दिए। उनले भने, '२०७४ सालमा संविधान कार्यान्वयनमा केन्द्रीत थियौं। यसपल्ट हामी समुन्नत नेपालको मार्गचित्रसहित प्रस्तुत हुँदैछौं।'
घोषणा पत्रमा समुन्नतिका लागि पाँच वर्षका ५ आयाम भनेर राखिएको छ। जुन पूरा गर्ने आधारसमेत तय गरिएको बताइएको छ।
प्राथमिकताका क्षेत्र निर्धारण
घोषणा पत्रमा समुन्नतिका लागि प्राथमिकताका क्षेत्र निर्धारण गरिएको छ। ती क्षेत्रको हालको अवस्था उल्लेख गरेर लक्ष्य निर्धारण गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषिलगायतका प्राथमिकताका क्षेत्र निर्धारण गरी कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने समेत उल्लेख गरिएको छ।
अहिलेका मुख्य समस्या पहिचान गरी समाधानका लागि गरिने कामहरु समेत उल्लेख गरिएको छ। हरेक वर्ष बल्झिने मुख्य समस्या पहिचान गरेर समाधानका उपाय समेत प्रस्तुत गरिएको छ। उदाहरणका लागि मल र बिउको समस्यालाई समाधान गर्न सकिने कानुनी र व्यावहारिक पक्ष केलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।