काठमाडौं– पछिल्लो समय आम नेपाली कोरोना भाइरसबारे चिन्तित देखिँदैनन्। कारण, कोरोना महामारी हटिसकेको धेरैले विश्वास गरेका छन्। आजकल कमैमात्र मानिस सार्वजनिक स्थानमा मास्क लगाएर जान्छन्। अर्कोतिर, पछिल्लो समय डेङ्गु संक्रमण बढेसँगै सरकारले पनि कोरोनाबारे जनचेतना जगाउन लगभग छोडेको छ। तर, सरकारी तथ्याङ्क नै हेर्ने हो भने पनि कोरोना संक्रमण नसकिएको पुष्टि हुन्छ।
किनकि, पछिल्लो २४ घन्टामा मात्र १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार एक सय १७ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रिमत फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म १० लाख पाँच सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये नौ लाख ८७ हजार आठ सय ६३ जना सङ्क्रमण मुक्त भएका छन्। बुधबार ३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या ६४१ छ ।
कोरोना सङ्क्रमणबाट हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार ९३३ ले पूर्ण मात्रा र ७९ लाख ७२ हजार ७९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन्।
७७ जिल्लामा डेङ्गु, ४३ हजार बिरामी
मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ। गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी भेटिएका छन्।
डेङ्गुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।