पोखरा – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ।
पोखरा रंगशालामा मंगलबार भएको फाइनलमा खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५ रनले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो।
पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८४ रन बनायो। एपीएफका लागि रोमा थापाले सर्वाधिक २६ र राजमती ऐरीले १२ रन जोडे। बलिङमा पुलिसका लागि ईश्वरी विष्टले सर्वाधिक २ विकेट लिइन्।
त्यसअघि ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो। पुलिसका लागि काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाइन्। एपीएफका नेरी थापा, इन्दु बर्मा र सीता रानामगरले १–१ विकेट लिए।
पुलिसले डेब्यू प्रतियोगितामै स्वर्ण पदक जितेको हो। पुलिसले नवौं राष्ट्रियका लागि राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीको कप्तानीमा टिम बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।