काठमाडौं – अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा हालसम्म पाँचवटा खेल भएका छन्। पहिलो चरणका पाँच खेलमध्ये तीनमा अप्रत्यासित नतिजा आएका छन्।
अक्टोबर १६ मा भएको समूह एको उद्घाटन खेलमा नामिबियाले सन् १०१४ को विजेता श्रीलंकालाई ५५ रनले हरायो।
एशोसिएट राष्ट्र नामिबियाले टेस्ट राष्ट्र श्रीलंकामाथि निकालेको यो फराकिलो नतिजा धेरै नै अप्रत्यासित हो।
यस्तै, अक्टोबरमा १७ मा भएको समूह बीको खेलमा पनि एउटा अप्रत्यासित नतिजा आइसकेको छ। स्कटल्याण्डले २०१६ को विजेता वेस्ट इण्डिजलाई ४२ रनले हराउँदै अर्को अप्रत्यासित नतिजा निकालेको छ। स्कटल्याण्ड एशोसिएट राष्ट्रमात्रै हो भने वेस्ट इण्डिज टेस्ट राष्ट्र हो।
मंगलबार भएको समूह एको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई पाँच विकेटले जितेको छ। जारी प्रतियोगितामा यो नेदरल्याण्ड्सको दोस्रो जित हो। यसअघि नेदरल्याण्ड्ले युएईलाई तीन विकेटले हराएको थियो।
यसैगरी, समूह बीको अर्को खेलमा जिम्बावेले आयरल्याण्ड ३१ रनले हराएको थियो।
दुवै खेल जितेको नेदरल्याण्ड्स चार अंक जोड्नै समूह एको शीर्ष स्थानमा छ। दुई खेल खेलेर एकमा जित र एकमा हार ब्यहोरेको नामिबिया दुई अंक जोड्दै समूहको दोस्रो स्थानमा छ। युएई र श्रीलंका अंकविहीन रहँदै क्रमशः तेस्रो र अन्तिम स्थानमा छन्।
समूह बीमा समान एक खेल खेलेर दुई–दुई अंक जोडेका स्कटल्याण्ड र जिम्बावे क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।
जितविहीन रहेका आयरल्याण्ड र वेस्ट इण्डिज क्रमशः तेस्रो र अन्तिम स्थानमा छन्।
हरेक समूहमा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्। जहाँ अष्ट्रेलिया, भारत, इंग्ल्याण्ड, पाकिस्तानजस्ता टोलीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।