पोखरा- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा सेमिफाइनल समीकरण पूरा भएको छ।
पोखरा रंगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ८ विकेटले हराएर सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइलन समीकरण पूरा भएको हो।
जितको लागि ५५ रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले १३ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो। बागमतीका लागि सुमन खतिवडा १७ रन र अनिशा मजाकोटी १६ रनमा अविजित रहिन्।
ओपनर अस्मिता खरेल १३ र कन्चन श्रेष्ठ ५ रन जोडे। मधेश प्रदेशका सरस्वती चौधरी र कविता गौतमले १/१ विकेट लिए। यसअघि पहिला ब्याटिङ गरेको मधेश प्रदेश १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै ५४ बनाएको थियो। मधेशका लागि सन्तोषी चौधरीले सर्वाधिक ८ रन बनाइन्।
समूह बीबाट बागमती उपविजेता र एपीएफ समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन्। भने समूह एबाट पुलिस विजेता र लुम्बिनी उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।
अब सेमिफाइनलमा बागमतीले सोमबार पुलिससँग र एपीएफले लुम्बिनीसँग खेल्नेछन्। फाइनल खेल मंगलबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।