पोखरा– नवौं राष्ट्रिय खेलकद अन्तर्गतको महिला क्रिकेटमा नेपाल सशस्त्र बल (एपीएफ) क्लबले लगातार चौथो जित निकालेको छ।
पोखरा रंगशालामा आइतबार एपीएफले आफ्नो चौथो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ९३ रनको लक्ष्य पछ्याएको एपीएफले १६ ओबरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।
एपीएफकी ईन्दु बर्माले ४५ बनाइन्। ज्योति पाण्डेले ११ रन र रोमा थापाले अविजित ११ रन जोडिन्। सुदूपश्चिमका लागि स्नेहा महरा, अनु कडायत, मनिशा चौधरी र डलि भट्टले समान १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो। सुदुरपश्चिमका लागि रितु कनौजियाले अविजित ३५ रन र रुबी पोदारले २३ रन बनाइन्।
स्नेहा महराले १८ रन बनाउँदा कप्तान बिन्दु रावलले ८ रन जोडिन्। एपीएफका लागि नेरी थापा, ईन्दु बर्मा र सुष्मा श्रेष्ठले समान १/१ विकेट लिए।
जितसँगै एपीएफ ४ खेलमा ८ अंक जोड्दै समूह ए बाट समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। सुदूुरपश्चिम भने ४ खेलमा २ अंकका साथ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
सो समूहबाट सेमिफाइनल पुग्ने अर्को टोली भने आजकै अर्काे खेलबाट टुगों लाग्नेछ। बागमती प्रदेश तथा मधेश प्रदेशबीचको खेलको विजेता सेमिफाइनल पुग्नेछ।
समूहु बी बाट भने समूह बिजेताका रुपमा पुलिस क्लब र उपबिजेताका रुपमा लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।