पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई १५ रनमा अल आउट गरेको छ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा पुलिसले दिएको ११३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२ ओभर २ बलमा मात्र १५ रनमा अल आउट भयो।
लुम्बिनीका लागि कप्तान सरस्वती घर्ती मगरले सर्वाधिक ६ रन बनाइन्। पुलिसका लागि बलिङतर्फ ईश्वरी विष्टले सर्वाधिक ४ विकेट लिइन्। उनले ४ ओभरमा २ मेडनसहित २ रन खर्चेर ४ विकेट लिइन्।
हिरनमयी राईले २ ओभरमा ५ रन खर्चेर २ विकेट लिइन्। रुविना क्षेत्री बेलबासेले १.५ ओभरमा १ रन खर्चेर २ विकेट लिइन्। सबनम राइले एक विकेट लिइन्।
यसअघि पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। पुलिसका लागि कविता जोशीले सर्वाधिक ४८ रन बनाइन्। सम्झना खड्काले २९ रन बनाइन्। बलिङतर्फ लुम्बिनीकी सुस्मिता भुसाल र मनिषा रानाले २–२ विकेट लिए।
जितसँगै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिसले लगातार ३ खेलमा जित निकाल्दै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको सेमिफाइलनमा प्रवेश गरेको हो।
पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६३ रन, दोस्रो खेलमा प्रदेश १ लाई ११८ रन र तेस्रो खेलमा लुम्बिनीलाई ९७ रनले पराजित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।