पोखरा- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा आज सशस्त्र प्रहरी बलको एपिएफ र मधेश प्रदेश विजयी भएका छन्। पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई र दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो ।
एपिएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्यो। पोखरा रङ्गशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपिएफले एक सय छ बल बाँकी रहँदै प्राप्त गर्यो।
एपिएफकोतर्फबाट सीता रानामगरले पाँच बलमा दुई चौका प्रहार गर्दै १२ रन जोडिन। इन्दु बर्माले तीन बलमा दुई चौकासहित ९ रनको योगदान दिइन्।
खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो। गण्डकीका कुनै पनि खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सकेनन्।
एपिएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले तीन ओभरमा चार रन खर्चिएर दुई विकेट लिइन्। त्यस्तै सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले एक–एक विकेट लिए।
जीतसँगै एपिएफ ग्रुप ए को शीर्षस्थानमा पुगेको छ । एपिएफले दुई खेलमा दुई जीत हासिल गर्दै चार अङ्क जोडेको छ।
दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै विजयी भयो। पहिले व्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९१ रनको योगफल तयार गर्यो।
९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले आठ विकेट गुमाएर ७६ रन मात्र बनाएपछि मधेस प्रदेश विजयी भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।