काठमाडौं– पाकिस्तानसँगको छैटौं टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड ८ विकेटले विजयी भएको छ।
लाहोरमा शुक्रबार राति भएको खेलमा जित निकालेसँगै पाहुना टोली इंग्ल्यान्डले ७ खेलको सिरिजमा ३-३ को बराबरी गरेको छ। अब दुई टोलीबीचको अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ।
पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इङ्ग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो।
इङ्ग्ल्यान्डका फिल साल्टले अविजित ८८ रनको अर्धशतकीय पारी खेले। एलेक्स हेल्स २७ रनमा तथा डाविड मालन २६ रनमा आउट भए।
बेन डुकेटले अविजित २६ रन जोडे। इङ्ग्ल्यान्डले पहिलो पावर प्ले अर्थात् ६ ओभरमा नै ८२ रन जोडेको थियो।
पाकिस्तानका शादब खानले २ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो।
पाकिस्तानका कप्तान बाबर आजमले ८७ रनको अर्धशतकीय पारी खेले। त्यस्तै, इफ्तिखर अहमदले ३१ तथा हैदर अलीले १८ र मोहम्मद नवाजले १२ रन जोडे।
इङ्ग्ल्यान्डका डेविड विलि र साम करणले २/२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।