बारा– सहरी विकासमन्त्री मेटमणि चौधरीले नेता असल भए मामा विकासको गतिले तीव्रता लिने बताएका छन्।
बाराको गढीमाई पार्क, गढीमाई चोकदेखि रसौला, बस्डिल्वा, इनर्वासिया बजार, सानो माटियरिया चिनी मिल हुँदै मानवत मटिअर्वा हुलाकी राजमार्ग जोड्ने सडक खण्ड, टेलिकम चोक– विकासशिल चोक–रंगशाला चोक–एयरपोर्ट दक्षिण सिमानासम्म जोड्ने सडक निर्माणलगायत ५० करोडका आयोजनाहरुको शिलान्यास गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।
शिलान्यास पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बारा पछि पर्नुको कारण जिल्लामा असल नेता नभएको टिप्पणी गरे।
‘जुन ठाउँका नेता असल, इमानदार र विकासप्रेमी हुन्छन् त्यहाँ तीव्र गतिमा विकास पुग्छ। तर, जहाँ जनताको काममा ध्यान दिनेभन्दा पनि गफ ठूला गर्ने नेता हुन्छन्, जहाँ जनतालाई हेप्ने, थर्काउने नेता हुन्छन्, त्यहाँ विकास हुँदैन’, उनले भने।
चुनाव जितेपछि नेता पार्टीभन्दा माथि उठेर विकासका काममा लाग्नुपर्ने चौधरीले बताए। कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका किसान श्रेष्ठले अब बारामा विकास र सम्बृद्धिको मूल फुट्ने दाबी गरे। बाराको विकासमा उनले जनताले चाहे जति बजेटको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक दिपिल शेखर श्रेष्ठले स्थानीय तह आत्मनिर्भर हुन जरुरी रहेको बताउँदै शिलान्यास भएका आयोजनाहरु समयमै सकिने बताए।
सघन सहरी तथा भवन निर्माण बाराका आयोजना प्रमुख झपटबहादुर थापाले शिलान्यास गरिएका जम्मै आयोजनाहरुले जनताको जीवनमा ठूलो परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।