काठमाडौं– माथिल्लो तटीय परियोजना, परियोजनाको जलमग्न क्षेत्र साथै सामाजिक, वातावरणीय तथा प्राविधिक पक्षलाई समेत ध्यानमा राखेर सप्तकोशी उच्च बाँध परियोजनालाई थप अध्ययन गरी अगाडि बढाउन नेपाल र भारतबीच सहमति भएको छ।
शुक्रबार काठमाडौंमा सम्पन्न नेपाल–भारत सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक र संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठकमा यस विषयमा समहति जुटेको हो। जसका लागि विज्ञहरूको संयुक्त टोलीको बैठक चाँडै हुने बताइएको छ।
यस्तै, बैठकले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिन विज्ञ टोलीको समयावधि सन् २०२३ मार्चसम्म थप्ने निर्णय गरेको छ। साथै, विज्ञ टोलीको चौथौं बैठक सकेसम्म चाँडै गर्न सहमति जनाइएको छ।
सन् २०२२ अप्रिलमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी नेपाल–भारत संयुक्त भिजन जारी गरिएको थियो।
देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले आ–आफ्ना देशका सम्बन्धित अधिकारीलाई परियोजनाको प्रतिवेदन यथासक्य चाँडै तयार पार्न निर्देशन दिएका थिए।
दुवै बैठकमा नेपाल र भारतकाबीच जलस्रोतका क्षेत्रमा भएका सहकार्यबारे बृहत छलफल हुनुका साथै महाकाली सन्धिको कार्यान्वयन, सप्तकोशी परियोजना र बाढी तथा डुबान नियन्त्रणमा भएका सहकार्यबारे छलफल भएको छ। डुबान तथा बाढी व्यवस्थापन संयुक्त समिति, कोशी तथा गण्डकी संयुक्त समितिलगायतका द्विपक्षीय समितिले गरेका प्रगतिबारे पनि बैठकमा छलफल भयो।
नेपाललाई सिंचाइ, बाढी व्यवस्थापन, डुबान नियन्त्रण, नदीको बाँध निर्माण लगायतका क्षेत्रमा सहयोग गरेकोमा नेपाली पक्षले भारतको सराहना गरेको छ। भारतीय पक्षले दुई देशबीचको अद्वितीय सम्बन्ध र आपसी हितका लागि जलस्रोतको उचित व्यवस्थापन र उपयोगको महत्त्वबारे उल्लेख गरेको थियो।
बैठकपछि भारतका जलस्रोत सचिव पंकज कुमारले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेटवार्ता गरे। उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भोलि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।