काठमाडौं– इंग्ल्याण्डमाथि पाकिस्तानले कीर्तिमानी जित निकालेको छ। कप्तान बाबर आजम र मोहम्मद रिजवानको सानदार ब्याटिङमा पाकिस्तानले इंग्ल्याण्डमाथि १० विकेटको कीर्तिमानी जित निकालेको हो।
नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो। जितका लागि २ सय रनको लक्ष्य पच्छ्याएको पाकिस्तानले बिना विकेट ३ बल बाँकी छँदै लक्ष्य भेट्टायो।
पाकिस्तानलाई कीर्तिमानी जित दिलाउने क्रममा कप्तान बाबर आजम ११० रन बनाउँदै अविजित रहे। उनले ६६ बलमा ५ छक्का र ११ चौका प्रहार गरेका थिए।
टि–२० मा बाबरको यो दोस्रो शतक हो। यसअघि उनले दक्षिण अफ्रिकाविरुद्ध टि–२० आईमा १२२ रन बनाएका थिए। मोहम्मद रिजवान पनि ८८ रनमा अविजित रहे। ५१ बलमा ५ चौका र ४ छक्कासहित उनले ८८ रन जाडे।
टि–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा पाकिस्तानले १० विकेटले जितेको यो दोस्रो जित हो। टि–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै विकेट नगमुमाई सर्वाधिक लक्ष्य भेट्टाएको यो पहिलो रेकर्ड हो। यसअघि १० विकेटको जित निकाल्ने क्रममा सर्वाधिक ठूलो लक्ष्य बनाउँदै न्युजिल्यान्डले २०१६ मा पाकिस्तानविरुद्ध नै १ सय ६९ रनको लक्ष्य भेट्टाएको थियो।
इंग्ल्यान्डका कप्तान मोईन अलीले २३ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाउँदै अविजित रहेका थिए। बेन डकेटले ४३ रन, ह्यारी ब्रोकले ३१ रन बनाए। एलेक्स हेल्सले २६, साल्टले ३० रन बनाए। साम करन १० रनमा अविजित रहे।
पाकिस्तानका शाहनवाज दाहनी र हरिस रौफले दुई–दुई विकेट लिए। मोहम्मद नवाजले १ विकेट हात पारे। जितसँगै ७ खेलको टी २० अन्तर्राष्ट्रिय सिरिजलाई पाकिस्तानले एक–एक को बराबरीमा ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।