काठमाडौं- रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाको प्रवर्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको सेयर बापतको बाँकी रकम आगामी ४ असोजबाट संकलन गर्ने भएको छ। रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ।
जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निष्काशन गरी प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो।
कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्म १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयर धनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्नेछ।
साबिकका सर्वसाधारण सेयर धनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध-सञ्चालक मोहनप्रसाद गौतमले बताएका छन्।
रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनुपर्ने प्रावधान बमोजिम सेयर धनीले प्रतिकित्ता ३ रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुनेछ।
आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयर धनीहरुले रकम बुझाउन आवेदन दिन सक्नेछन्। सेयर धनीहरुले यसरी रकम भुक्तानी गर्दा आस्वा शुल्क समेत तिर्नुपर्ने छैन। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लि. रहेको छ।
जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ अनुसार सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयर धनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ।
‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले साबिक सेयर धनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि आह्वान गरेका हौं,’ प्रबन्ध-सञ्चालक गौतमले भने।
आयोजनाका प्रवर्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ। कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।