काठमाडाैं- केन्यासँगको दोस्रो एकदिवसीय खेल नेपालले १७ रनले जित हात पारेको छ। शनिबार भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो। जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाबै २–० ले जितेको छ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो। नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ। नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो।
नेपालले दिएको २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको केन्याले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १३ रन बनायो। केन्याका लागि सर्वाधिक रन रकिप पटेलले बनाए। उनले ८१ रनको अर्धशतकीय इनिङ खेलेका थिए।
कोलिन्स ओबुयाले ३७ रन जोड्दा नेल्सन ओधियाम्बोले २८ रन बनाए। गेरार्ड मुथुईले २० रन बनाए। नेपालका दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले ३ विकेट लिए। करण केसी, आदील अन्सारी र पवन सर्राफले १÷१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले। रोहितले ९५ बलमा ७ चौका प्रहार गरे। यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए। ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।