काठमाडौं– रोहितकुमार पौडेलको कप्तानीमा नेपालले अहिले केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेलिरहेको छ। केन्याको नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ।
यसअघि पौडेलकै कप्तानीमा नेपालले केन्यासित शुक्रबार पहिलो एकदिवसीय खेल खेलेको थियो। उक्त खेलमा नेपाल सात विकेटले विजयी भयो। केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो। सो खेलमा नेपालका लागि आसिफ शेखले शतकीय पारी खेलेका थिए। उनले ११० रनको योगदान दिए। यस्तै अर्जुन साउदले ६१ रनको अर्धशतकीय पारी खेले।
जितसँगै नेपालले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ। नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी–२० क्रिकेट सिरिज खेलेको थियो। नेपालले उक्त सिरिज ३–२ ले जित्यो। टी–२० सिरिजको कप्तानी नियमित कप्तान सन्दीप लामिछानेले गरेका थिए। उक्त सिरिज सम्पन्न भएपछि लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएका छन्। लामिछाने सीपीएलमा जमैका तालावाजमा आवद्ध छन्। नेपालले केन्यासितको अन्तिम एकदिवसीय खेल सोमबार खेल्ने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।