काठमाडौं– महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबारका लागि बयान सकेको छ। बुधबारको बयानका क्रममा जम्मा चारवटा प्रश्न सोधिएका थिए। सिफारिस समितिको बैठक भोलि बिहीबार पनि बस्नेछ। र, बाँकी बयान लिनेछ।
बुधबार राणाले आफूमाथि महाभियोग ल्याइनुको मुख्य कारण ललिता निवास प्रकरणमा फैसलाको मिति तोक्नु भएको दाबी गरेका छन्। उनले समितिका सदस्यहरुको प्रश्नको जवाफ दिनेक्रममा उक्त कुरा बताएका हुन्।
कात्तिक १५ गते ललिता निवास प्रकणमा अन्तिम फैसला सुनाउने मिति तोकेपछि नै सत्तापक्षले महाभियोग ल्याएको राणाको दाबी छ।
उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गरिएको थियो। ‘महाभियोग आउनुमध्येको एउटा प्रमुख कारण यो पनि हो’, उनले जवाफमा भनेका छन्।
उनले आफूमाथि के कति कारणले महाभियोग ल्याइयो भन्दै समिति सदस्यहरूलाई प्रतिप्रश्न समेत गरेका छन्। राणाले न्यायालय सुधारका लागि आफूले थालनी गरेको दाबी गरेका छन्।
उनले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग गोलाप्रथा लागू गर्ने सहमति गरेको तर, त्यसकै दुई दिनमै बार किन राजीनामा माग्ने स्थितिमा पुग्यो भन्ने कुरा आफूले बुझ्न नसकेको बताएका छन्।
बारलाई पटक–पटक वार्तामा आउन पत्र लेखे पनि नआएको राणाले जवाफ दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।