काठमाडौं– न्यूजिल्यान्डका अलराउन्डर कोलिन डी ग्रान्डहोमले तीनवटै फर्म्याटमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। चोट र राष्ट्रिय टोलीमा बढ्दो प्रतिस्पर्धाका कारणले आफूले सन्यासको घोषणा गरेको उनले जानकारी दिएका छन्।
न्यूजिल्यान्ड क्रिकेटले जारी गरेको विज्ञप्तिमा उनले भनेका छन्, ‘म बूढो भइसकेको छैन। यद्यपि, विशेष गरी चोटका कारण प्रशिक्षण अझ गाह्रो हुँदै गइरहेको छ। मेरो एउटा परिवार छ र म क्रिकेट भनेको के हो भनेर बुझ्ने कोसिस गरिरहेको छु। २०१२ मा डेब्यू गरेदेखि ब्ल्याक क्याप्सका लागि खेल्न पाउँदा भाग्यशाली मान्दछु। मलाई मेरो अन्तर्राष्ट्रिय करियरमा गर्व छ। यो अन्त्य गर्ने सही समय हो।’
१० वर्षभन्दा लामो आफ्नो अन्तर्राष्ट्रिय करियरमा डे ग्रान्डहोमले ११५ खेलमा न्यूजिल्यान्डको प्रतिनिधित्व गरेका थिए। उनी आफ्नो अनुशासित मध्यम गति बलिङ र ब्याटिङ क्रममा सर्ट खेल्ने क्षमताका कारण वर्षौंदेखि नियमित सदस्य थिए। उनी २०२१ मा भएको पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई पराजित गर्ने टोली र २०१९ को ऐतिहासिक विश्वकपको फाइनलमा पराजित भएको टोलीको हिस्सा थिए।
डी ग्रान्डहोमले २०१२मा अकल्यान्डमा जिम्बाब्वेविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलबाट आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। जुनमा लर्ड्समा इंग्ल्यान्डविरुद्धको टेस्ट उनको अन्तिम अन्तर्राष्ट्रिय खेल थियो।
२९ टेस्ट खेलमा उनले २ शतक र ८ अर्धशतक प्रहार गर्नुका साथै ४९ विकेट पनि लिएका छन्। ४५ एकदिवसीय खेलमा उनले १०६.१५ को स्ट्राइक रेटमा ३० विकेट र ७४२ रन बनाए।
आफ्नो करियरमा उनले ४१ टी–२० अन्तर्राष्ट्रिय खेले। १३८.२५ को स्ट्राइक रेटमा ५०५ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।