काठमाडौं- अफगानिस्तानले युएईमा जारी एसिया कप २०२२ क्रिकेटमा लगातार दोस्रो जितसहित सुपर ४ मा स्थान बनाएको छ।
मंगलबार राति सम्पन्न खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तानले सुपर ४ मा स्थान बनाएको हो। बंगलादेशले दिएको १२८ रनको लक्ष्य अफगानस्तानले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।
अफगानिस्तानका नाजिबउल्लाह जाड्रानले अविजित रहँदै सर्वाधिक ४३ रन जोडे। उनले १७ बलमा १ चौका र ६ छक्का प्रहार गरे। यता, इब्राहिम जाड्रानले ४१ बलमा ४ चौकासहित अविजित ४२ रन बनाए। हाज्रातुल्लाह जाजइले २३ रन बनाए।
बंगलादेशका लागि शकिब अल हसन, मोसाडिक होसेन र मोहम्मद साईफुदिनले १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो।
बंगलादेशका मोसाडिक होसेनले अविजित ४८ रन बनाए। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै, महमुदुल्लाहले २७ बलमा १ चौकासहित २५ रन बनाए। मेहेदी हसनले १४ रन बनाए।
अफगानिस्तानका मुजिबउर रहमान र राशिद खानले ३/३ विकेट लिए।
यस जितसँगै समूह बी को अफगानिस्तानले २ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो।
अफगानिस्तान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। पराजित बंगलादेश अंकविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।