काठमाडौं– आईसीसी टी-२० विश्वकपको ट्रफी मंगलबारबाट नेपालका विभिन्न स्थानमा प्रदर्शनको लागि राखिने भएको छ। युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यसहित ट्रफी सोमबार नेपाल ल्याइएको हो।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र कालापत्थरमा राखिनेछ। त्यसपछि मंगलबार दिउँसो नै समय अनुकुल भएमा राष्ट्रपति वा प्रधानमन्त्री कार्यलय लैजाने कार्यक्रम रहेको क्यानका जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिए।
ट्रफी खेलाडी तथा राष्ट्रप्रमुखबाहेक अन्यले छुन पाउने छैनन्। ट्रफीका साथ राष्ट्रिय टोलीका पूर्वअलराउन्डर महबुब आलम जानेछन्।
मंगलबार बेलुका क्यानले क्रिकेटसम्बन्धित व्यक्ति र प्रायोजकमाझ ट्रफीसहित गाला डिनर आयोजना गर्दैछ।
बुधबार ट्रफीको सार्वजनिक प्रदर्शनी हुनेछ। ट्रफी बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आम नागरिकमाझ अवलोकनका लागि खुल्ला राखिने खनालले जानकारी दिए। निसानसँग सहकार्य गरेर आईसीसीले ट्रफी विश्वभर भ्रमण गराउँदै आएको छ।
विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्याइने छ। टी- २० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक आउन लागेको हो। यसअघि २०१९ मा इङ्ग्ल्यान्डमा भएको एकदिवसिय विश्वकपको ट्रफी भने नेपालको काठमाडौं र पोखरा पुर्याइएको थियोे। टी-२० विश्वकपको ट्रफीको टुर जुलाई ८ देखि मेलबर्नबाट भएको हो।
अक्टोबर १३ मा अस्ट्रेलियाको जिलङमा पुगेर यो टुर सकिने छ। टी- २० विश्वकप २०२२ अस्ट्रेलियामा १६ अक्टोबरदेखि नोभेम्बर १३ सम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।