काठमाडौं– घरेलु टोली केन्याविरुद्धको चौथो टी–२० आईमा नेपाल पराजित भएको छ।
सोमबार भएको खेलमा नेपाललाई केन्याले ७ रनले हराएको हो। केन्याले दिएको १०२ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। उनले ५५ बलमा २ चौका र २ छक्का प्रहार गरे। नेपालका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका आदिल अन्सारीले ८, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रन बनाए। करण केसी ५ र आरिफ शेख २ रनमा आउट भए। पवन सर्राफ र सोमपाल कामीले खाता खोल्न सकेनन्।
केन्याका रकिप पटेलले सर्वाधिक ३ विकेट लिए। विराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले २÷२ विकेट लिए।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १०१ रन बनायो।
केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए। उनले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
यस्तै, कोलिन्स अबुयाले ३० बलमा २ चौकासहित २० रन बनाए। कप्तान शेम एन्गोचेले १३ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।
केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। उनले ४ ओभरमा मात्र ९ रन खर्चिए। आदिल अन्सारीले २ तथा साहब आलम र दीपेन्द्रसिंह ऐरीले १÷१ विकेट लिए।
जितसँगै केन्याले ५ खेलको टी–२० सिरिजमा २–२ को बराबरी गरेको छ। नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी–२० मंगलबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।