काठमाडौं– पाहुना टोली नेपालले तेस्रो टी–२० आईमा घरेलु टोली केन्यामाथि जित हात पारेको छ। आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो।
केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १६० रन बनाएर पूरा गर्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए। यस्तै, डेब्यू खेलाडी अर्जुन साउदले ३५ रन बनाए।
यता, रोहितकुमार पौडेल २९, पवन सर्राफ २०, आदिल अन्सारीले १६ र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए।
केन्याका विराज पटेल र युगिनी ओचिङले २/२ विकेट लिए।
त्यसअघि नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १५६ रन बनाएको थियो।
केन्याका लागि राकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ्स खेले। पटेलले अविजित रहँदै ४३ बलमा ५ चौका र ४ छक्कासहित ७३ रन बनाए।
यस्तै, करिम ४७ बलमा ४ चौका र २ छक्कासहित ५५ रनमा अविजित रहे। कोलिन्स ओबुयाले १८ र सुखदिप सिंहले ८ रन जोडे। नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले १/१ विकेट लिए। जितसँगै पाँच खेलको सिरिजमा नेपालले २-१ को अग्रता लिएको छ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। तर, शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो।
नेपाल र केन्याबीच चौथो टी–२० भदौ १३ गते र पाँचौ तथा अन्तिम खेल भदौ १४ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।