काठमाडौं– अफगानिस्तानले एसिया कप २०२२ क्रिकेटमा विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा ५ पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद् सुरुआत गरेको हो।
श्रीलंकाले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
अफगानिस्तानको जितमा रहमानउल्लाह गुर्बाजले सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
यस्तै, हज्रातउल्लाह जाजईले अविजित रहँदै २६ बलमा ५ चौका र १ छक्कासहित ३७ रनको योगदान दिए। इब्राहिम जाड्रनले १३ बलमा २ चौकासहित १५ रन बनाए। नजिबुल्लाह जाड्रन २ रनमा अविजित रहे।
श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले १ विकेट लिए। त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका १९.४ ओभरमा अलआउट हुँदै १०५ रनमा समेटियो।
श्रीलंकाका भानुका राजपक्षेले सर्वाधिक ३८ रनमा रन बनाए। उनले २९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। चामिका करुणारत्ने ३८ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भए।
एक समय ५–३ को अवस्थामा पुगेको श्रीलंकालाई धनुष्का गुणाथिलका र भानुकाले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए। मुजिब उरहमानको बलमा गुणाथिलका स्वीप सर्ट खेल्ने क्रममा १७ रनमा आउट भए। उनले १७ बलमा ३ चौका प्रहार गरे।
श्रीलंकाका ८ ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। अफगानिस्तानका फजलहक फारुकीले ३.४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिए। मुजिबउ रहमान र मोहम्मद नाबीले २/२ विकेट लिए। नविन उल हकले ३ ओभरमा २३ रन खर्चेर १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।