काठमाडौं– पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद वासिम चोटका कारण आगामी एसिया कपबाट बाहिरिएका छन्। उनी कम्तिमा तीन साता क्रिकेट मैदानबाट टाढा रहनेछन्। उनको स्थानमा अनुभवी तीव्र गतिका बलर हसन अलीलाई टोलीमा समावेश गरिएको छ। उनी हालै खराब फर्मका कारण टोलीबाट बाहिरिएका थिए।
वसीमले अभ्यासका क्रममा ढाड दुखेको गुनासो गरेका थिए। त्यसपछि उनको एमआरआई स्क्यान गरिएको थियो। उनलाई साइड स्ट्रेन भएको पत्ता लागेको छ। यता, खराब फर्मका कारण हसनलाई नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय सिरिज र एसिया कपको टोलीबाट निकालिएको थियो।
उनले यो वर्ष ८ टी–२० खेलमा ८ विकेट लिएका छन्। यस्तै, ३ एकदिवसीय खेलमा ७६.५ को खराब औसतमा २ विकेट मात्रै लिएका छन्। उनले यस वर्ष पाकिस्तान सुपर लिग (पीएसएल) मा ४०.५५ र इकोनोमी १०.८४ को औसतमा इस्लामाबाद युनाइटेडका लागि ९ खेलमा ९ विकेट लिएका थिए। फर्ममा फर्किनका लागि हसन अगस्ट २० बाट सुरु हुने राष्ट्रिय टी–२० प्रतियोगिता खेल्न जाँदै थिए। उनलाई दक्षिणी पञ्जाब टोलीको कप्तान पनि बनाइएको थियो।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अनुसार टोली व्यवस्थापनले हसनलाई वासिमको स्थानमा समावेश गर्न माग गरेको थियो। जसलाई मुख्य छनोटकर्ता मोहम्मद वासिम अब्बासीले स्वीकार गरेका थिए। त्यसअघि शाहिन अफ्रिदी घाइते भएपछि तीव्र गतिका बलर मोहम्मद हसनैनलाई पाकिस्तानी टोलीमा समावेश गरिएको थियो।
अब हसनले पाकिस्तानको तीव्र गतिको बलिङ आक्रमणको नेतृत्व हसनैन, हरिस रउफ, शाहनवाज दहनी र नसीम शाहसँग गर्नेछन्। पाकिस्तानको पहिलो खेल २८ अगस्टमा भारतसँग हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।