काठमाडौं– घरेलु टोली केन्याविरुद्धको दोस्रो टी-२० आई क्रिकेटमा भ्रमणकारी नेपाल पराजित भएको छ। शुक्रबार सम्पन्न खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो।
यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १-१ को बराबरीमा गरेको छ। बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो।
केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै ११४ रन मात्र बनाउन सक्यो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए। उनले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै, आदिल अन्सारी र रोहित पौडेलले २०/२० रन जोडे।
पवन सर्राफ १९ रनमा आउट भए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। केन्याका लुकास ओलुओच, इमानुएल बुन्डी र भिराज पटेलले २/२ विकेट लिए।
त्यसअघि नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रनको जोडेको थियो। केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन जोडेका थिए। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यता, निहिमी अडिहिम्बोले २० बलमा ४ चौका र १ छक्कासहित २९ रनको योगदान दिए। इरफान करिमले ३३ बलमा २ चौकासहित २२ रन बनाए। सचिन भुदियाले १४ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा १६ रन दिँदै ३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। करण केसीले २ र पवन सरार्फले १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।