काठमाडौं– नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली केन्यालाई ५ विकेटले पराजित गरेको छ। योसँगै नेपालले ५ टी–२० आई सिरिजमा १–० को अग्रता लिएको छ।
केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा ५ विकेट गुमाएर १३३ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए। उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे। यता, मध्यक्रमका आरिफ शेखले १५ बलमा ३ चौका र १ छक्कासहित अविजित २४ रन बनाए।
ज्ञानेन्द्र मल्लले ३० बलमा ३ चौकासहित २३ रन बनाए। आशिफ शेख २७ बलमा ३ चौकासहित १९ रनमा आउट भए। उपकप्तानसमेत रहेका रोहित कुमार पौडेलले १४ बलमा १ चौकासहित १३ रनको योगदान दिए।
केन्याका लागि लुकास ओलुओच र विराज पटेलले २/२ विकेट लिए। त्यसअघि नैरोबीस्थित जिमखान क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनायो।
केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रनको योगदान दिए। उनले ४४ बलमा ३ छक्का प्रहार गरे। यता, लुकास ओलुओचले १३ बलमा ५ चौका र १ छक्कासहित अविजित ३० रन जोडे।
यस्तै, नेल्सन ओढियाम्बोले २१ बलमा १ चौकासहित १९ रन बनाए। सचिन भुडियाले १७, कोलिन्स ओबुयाले १२ रन बनाउँदा राकिप पटेल ९ र एलेक्स ओबन्डा ६ रनमा आउट भए।
कप्तान शेम एन्गोचेले भने खाता खोल्न सकेनन्। नेपालका तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए।
यता, कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए। खेलको म्यान अफ दी म्याच सोमपाल कामी घोषित भए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।