काठमाडौं– नेपालले आज केन्यासँग पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल खेल्दैछ।
केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्ने लागेको हो। खेल नेपाली समय अनुसार अपराह्न ३:४५ मा सुरु हुनेछ।
पाँच खेलको टी-२० शृंखलाका लागि केन्या पुगेको नेपाली टोली आज सुखद सुरुआतको योजनामा हुनेछ।
नेपालका कप्तान सन्दीप लामिछानेले बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताए। केन्या नेपालका लागि सहज प्रतिद्वन्दी समेत हो। यस अघिको दुई भेटमा नेपालले केन्यालाई हराएको छ।
तर, केन्या पनि नेपाललाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ। केन्याका कप्तान शेम एनगोचेले नेपाललाई हराएर वरीयता सुधार गर्ने योजनामा रहेको बताए।
यो खेल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो।
नेपाल र केन्याबीच पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन लागेको हो । यस्तै टी-२० क्रिकेटमा नेपाल र केन्या झण्डै एक दशकपछि पहिलो पटक खेल्न लागेका हुन् । नेपालले अफ्रिकन राष्ट्र केन्या भ्रमण गरेको पनि यो पहिलो पटक हो।
पाँच खेलको शृंखलाअन्तर्गत दोस्रो टी-२० भदौ १० गते , तेस्रो टी-२० भदौ १२ गते, चौंथो टी-२० भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ।
टी-२० शृंखलापछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।