काठमाडौं– सरकारले निर्माण लगायतका १० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा पर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का घरबेटी शारदाप्रसाद अधिकारीको लगानी रहेको शैलुङ कन्सट्रक्सन पनि छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै १० वटा कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ।
विभिन्न सडकहरुको निर्माण जिम्मा (ठेक्का) लिएर अलपत्र पार्दै आएको शैलुङलाई विभिन्न सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसका आधारमा कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ।
शैलुङले भक्तपुर–नगरकोट–सिपाघाट सडक, त्रिशुली–छहरे/विदुर सडक, तीनपिप्ले–सिसडोल सडक लगायतका आयोजना अलपत्र पारेको छ।
एक चिनियाँ इन्जिनियरिङ कम्पनी र भारतीय आरभाली इन्फ्रापावर लिमिटेडलाई पनि सरकारले ३ वर्ष सम्मका लागि कालोसूचीमा राखेको छ। महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज प्रालि २ वर्षका लागि कालोसूचीमा परेको छ। त्यस्तै बलिया कन्ट्रक्सन, जोनशन कन्ट्रक्सन , जस्ट इन टाइम कन्ट्रक्सन र तुम्येहाङ निर्माण सेवा लगायतलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।