काठमाडौं–अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले कप्तानीबाट आफूमाथि लागेको आजीवन प्रतिबन्ध हटाउन अपिल गरेका छन्। घरेलु लिग ‘बिग बास लिग’ (बीबीएल)मा फर्किने पुष्टि भएसँगै वार्नरले आफूमाथि लागेको प्रतिबन्ध हटाउन क्रिकेट अस्ट्रेलिया (सीए)सँग अपिल गरेका हुन्।
सन् २०१८ मा केप टाउनमा बल टेम्परिङको आरोपमा स्टिभ स्मिथ र क्यामरून ब्यानक्रफ्टसँगै वार्नरलाई एक वर्षको लागि क्रिकेटबाट निलम्बन गरिएको थियो। त्यसपछि वार्नरले भविष्यमा कुनै चरणमा अस्ट्रेलियाली क्रिकेट टोलीको नेतृत्व गर्न नपाउने गरी आजीवन प्रतिबन्ध लगाइएको थियो।
अब कम्तिमा बीबीएलमा आफूलाई सिड्नी थन्डरको कप्तानी गर्न दिनुपर्ने उनको भनाइ छ। थन्डरलाई २०२२-२३ सिजनमा पनि नयाँ कप्तानको आवश्यकता पर्नेछ। किनभने उस्मान ख्वाजा अब ब्रिस्बेन हिटबाट खेल्नेछन्।
वार्नरले भने, ‘यसबारे कुनै औपचारिक छलफल भएको छैन। मैले अनौपचारिक रूपमा धेरै पटक भनेको छु। २०१८ को र आजको बोर्डमा ठूलो भिन्नता छ, जुन बेला मलाई सजाय सुनाइयो। म उहाँहरूबाट राय जान्न चाहन्छु।’
वार्नरले यस सम्बन्धमा टेस्ट कप्तान प्याट कमिन्सको समर्थन पनि पाएका छन्। उनले भनेका छन्,‘किन हुन्नँ? उनी राम्रो कप्तान हुन र म उनलाई मौका दिन चाहन्छु।’ केप टाउन टेस्टमा कप्तान रहेका स्मिथलाई पनि दुई वर्षको कप्तानीबाट प्रतिबन्ध लगाइएको थियो।
गत वर्ष एसेजमको दोस्रो टेस्टमा अस्ट्रेलियाको कप्तानी स्मिथले गरेका थिए। औपचारिक कप्तानी पाए या नपाए पनि अस्ट्रेलियाली क्रिकेटको नेतृत्व निर्वाह गरिरहने वार्नरले बताए।
‘मसँग अनुभव छ। मसँग कुनै पनि पदबिना टोलीको नेतृत्व गर्ने बानी छ। कुनै युवा खेलाडीले मसँग सल्लाह लिन चाहेमा सधैं फोनमा उपलब्ध हुन्छु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।